कैलाश विकास बैंकका कर्मचारीमाथि १ करोड १९ लाख ठगीको आरोप

काठमाडौं - कैलाश विकास बैंकका एक जना कर्मचारीले १ करोड १९ लाख ठगी गरेको आरोप लागेको छ । कैलाश विकास बैंक लामाचौर शाखाबाट तत्कालिन शाखा प्रमुख नरेन्द्र थापाले पन्थी इन्ड्रस्टिजको रकम ठगी गरेको आरोप लागेको हो । 

पन्थी इन्ड्रस्टिजका सञ्चालक रेशमराज पन्थीले बैंकका तत्कालिन शाखा प्रमुख थापाले खाली चेकमा हस्ताक्षर गर्न लगाएर आफ्नो कम्पनीको छाप र हस्ताक्षरसहितको खाली चेक आफैंसँग राखेर आफूलाई जानकारीसमेत नगराइ व्यक्तिगत हिसावले ऋण स्वीकृत गराई रकम हिनामिना गरेको बताए । पोखरा औद्योगिक क्षेत्रमा रहेको पन्थी इन्ड्रस्टिजअन्तर्गत पन्थी डेरी प्रालि सञ्चालनका लागि आवश्यक पर्ने ५ करोड ऋण पन्थीले माग गरेपछि कैलाश विकास बैंकले अर्को बैंकमा रहेको निजको धितो फुकुवा गराउन १ करोड ७५ लाख रुपैयाँ दिएको थियो । उक्त रकम बैंकले धितो रोक्का हुनु पूर्व पन्थीलाई उपलब्ध गराएको देखिन्छ । बैंकले उपलब्ध गराएको बैंक स्टेटमेन्टअनुसार गत भदौ १३ गते १ करोड ५० लाख रुपैयाँ ऋण लगानी गरेको देखिन्छ । तर तत्कालिन शाखा प्रमुख थापाले ऋण लगानी एक महिनापछि हुने भन्दै आवश्यक प्रक्रियाका लागि भन्दै खाली चेकमा हस्ताक्षर गराउन लगाई चेक र कम्पनीको छाप आफैंसँग राखेको पन्थी बताउँछन् । 

पन्थीले त्यस समयमा आफ्नो लागि ऋण लगानी भएको र खातामा पैसा आएको जानकारी नै नपाएको बताए । तर तत्कालिन शाखा प्रमुख थापाले भने तत्कालै ऋण लगानी गरी खातामा पैसा राखि आफूखसी विभिन्न व्यक्ति तथा संस्थाका नाममा चेक काटेर पन्थीको खाताबाट रकम हिनाहिना गरेको पन्थीको आरोप छ । छोरी निशा पन्थीको समेत हस्ताक्षर चल्ने गरी पन्थीले बैंकमा खाता खोलेका थिए । तत्कालिन शाखा प्रमुख थापाले आफूलाई शाखामा पटक पटक बोलाएर दबाबमा पारी हस्ताक्षर नगरे ऋण लगानी रोकिदिने र ऋण लगानी पूर्व दिएको १ करोड ७५ लाख समेत फिर्ता गर्नुपर्ने धम्की दिँदै विभिन्न व्यक्ति तथा संस्थाको नाममा चेक काट्न लगाई हस्ताक्षर गराएको निशाको आरोप छ । उनले रुँदै भनिन्, “नरेन्द्र सरले मलाई बैंकमा वोलाएर विभिन्न व्यक्ति तथा संस्थाको नाममा चेक काट्न लगाई हस्ताक्षर गर्न लगाउँदै बाबालाई भनिस भने ऋण लगानी पनि रोकिदिन्छु र तैंले पहिलाको रकम १ करोड ७५ लाखसमेत फिर्ता गर्नुपर्छ भन्नुभयो ।” ऋण रोकिने डर र पैसासमेत फिर्ता गर्नुपर्ने धम्की दिएपछि बाध्य भएर बाबुलाई नभनी आफूले चेकमा हस्ताक्षर गरेको निशाको भनाइ छ । 

बैंकले थप २ करोड पन्थी इन्ड्रस्टिजका लागी ऋण स्वीकृत गरेको थियो । तत्कालिन शाखा प्रमुख थापाले पन्थी इन्ड्रस्टिजका लागि स्वीकृत भएको रकम हो भन्दै पन्थी डेरीको चेकमा दबाबमा पारी आफूलाई हस्ताक्षर गर्न लगाएको निशाको भनाइ छ । बैंकको स्टेटमेन्ट अनुसार गण्डकी ईन्जिनियरिङका नाममा ४५ लाख, लेकसाईड हार्डवयरमा १३ लाख, सोवित पहारीको नाममा ४ लाख ५० हजार, आर्क दी आर्किटेक्चरको नाममा २० लाख, पन्थी डेरीको नाममा २५ लाख, निशा पन्थीको नाममा ५ लाख विभिन्न समयमा साटिएको देखिन्छ । उल्लेखित कुनै पनि रकम पन्थी कम्पनी तथा पन्थी परिवारले नलिएको निशाको दाबी छ । साथै निशाले केही नगद रकम समेत तत्कालित शाखा प्रमुखको दबाबमा केही व्यक्तिलाई दिएको बताइन् ।

चीनबाट कम्पनीमा मेसिन भित्र्याउन एलसी खोल्नुपर्ने भएकाले बैंकमा स्टेटमेन्ट हेर्दा पन्थीले आफ्नो खातामा रहेको रकम हिनामिना भएको जानकारी पाएका हुन् । तत्कालिन शाखा प्रमुख थापालाई बैंकले लामाचौर शाखाबाट लेकसाइड शाखामा सरुवा गरेपछि निलम्बन गरेको छ । यस विषयमा बैंकका प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले आफ्ना कर्मचारी नरेन्द्र थापाको बिषयमा हाल अनुसन्धान भइरहेको बताए । पन्थीको रकम अर्कोको नामबाट आफ्ना कर्मचारीले सापटीको रुपमा दिएकाले सिईओ श्रेष्ठले जनाए । 

तत्कालिन शाखा प्रमुख थापाले भने पन्थीको रकम आफूले हिनामिना नगरेको बताए । निशा पन्थीले विभिन्न व्यक्ति तथा संस्थालाई पन्थी डेरीको रकम दिएको उनले जनाए । आफूले कुनै रकम हिनाहिना गरेको पुष्टि भएमा कारबाही भोग्न तयार रहेको उनको भनाइ छ ।

नेपाल राष्ट्र बैंक पोखराका प्रमुख पोमनाथ गौतमले कुनै पनि बैंक तथा वित्तीय संस्थाहरुले गरेको हिनाहिनाका मुद्दा केन्द्रले नै हेर्ने गरेको बताए । कैलाश विकास बैंकको हाल रकम हिनाहिना भएको विषयमा भने पुलिसबाटै कारवाही हुने उनको भनाइ छ । कारोबार दैनिकबाट

प्रतिकृया दिनुहोस्