‘नेपाल इन्भेष्टमेन्ट बैंकबाट सुमार्गीले लगेको पैसा फिर्ता गर्न सकिदैन’

काठमाडौं - बैंकहरुले व्यवसायी अजयराज सुमार्गीले नेपाल इन्भेस्टमेन्ट बैंकबाट स्थानान्तरण गरेको पैसा फर्काउन व्यवहारिक समस्या भएको पत्र नेपाल राष्ट्र बैंकलाई पठाएका छन्।

राष्ट्र बैंकले सुमार्गीको बैंक खातामा रहेको रकम पूर्ववत अवस्थामा ल्याउन बारम्बार निर्देशन दिएपछि बैंकहरुले रकम फिर्ता ल्याउन व्यवहारिक समस्या भएको जानकारीसहितको पत्र पठाएका हुन्। सुमार्गीले स्थानान्तरण गरेको रकम ऋण तिर्न, कर्मचारीलाई तलब भुक्तानी र राजस्व भुक्तानीमा प्रयोग गरेकाले अब फेरि त्यस्तो रकम फिर्ता गर्न सम्भव नभएको बैंकहरुको भनाइ छ।

राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले बैंकहरुले ऋण तिर्न प्रयोग भएको पैसा फेरि खातामा ल्याउन सकिने सम्भावना नभएको जानकारी गराएको बताए। ‘बैंकहरुले खातामा पैसा ल्याउन व्यवहारिक समस्या देखाएका छन्,’ उनले नागरिकसँग मंगलबार भने, ‘खातामा रकम ल्याउन कठिनाइ भएको पत्रमा उल्लेख छ।’ राष्ट्र बैंकले मंगलबार पनि बैंकहरुलाई सुमार्गीको खातामा रकम ल्याउन निर्देशन दिएको प्रवक्ता पौडेलले जानकारी दिए।

‘रोक्का राखेको धन सम्पत्ति फुकाउन जति सजिलो हुन्छ त्योभन्दा बढी कठिनाइ गइसकेको रकम फिर्ता ल्याउन हुन्छ,’ उनले भने, ‘बैंकहरुलाई पनि त्यही समस्या छ। तर पनि उनीहरुलाई बारम्बार निर्देशन दिएका छौं।’ ७८ करोड रुपैयाँमध्ये २३ करोड सुमार्गीले इन्भेस्टमेन्ट बैंकबाट लिएको ऋण तिर्न प्रयोग गरेका थिए भने बाँकी ५५ करोड रुपैयाँ अन्य तीन बैंक ९२५ करोड नेपाल बंगलादेश बैंक, १० करोड महालक्ष्मी विकास बैंक र २० करोड प्राइम० मा स्थानान्तरण गरेका थिए।

राष्ट्र बैंकले सुमार्गीको बैंक खातामा रहेको रकम पूर्ववत अवस्थामा ल्याउन बारम्बार निर्देशन दिएपछि बैंकहरुले रकम फिर्ता ल्याउन व्यवहारिक समस्या भएको जानकारीसहितको पत्र पठाएका छन्।

बैंकहरुमा स्थानान्तरण गरेको रकम फिर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको थियो। नेपाल इन्भेस्टमेन्ट बैंकको रकम स्थानान्तरण गरेका बैंकहरुले पैसा फर्काउन सक्ने अवस्था नभएको बताउँदै आएका छन्। सर्वोच्च अदालतको अन्तरिम आदेशपछि व्यवसायी सुमार्गीले नेपाल इन्भेस्टमेन्ट बैंकमा रहेको आफ्नो ७५ लाख अमेरिकी डलर अन्य बैंकहरुमा स्थानान्तरण गराएका थिए। त्यसअघि तत्कालीन न्यायाधीश दीपकराज जोशीको एकल इजलासले अल्पकालीन आदेश जारी गर्दै रकम झिक्ने अनुमति दिएको थियो।

सुमार्गी स्वामित्वको मुक्तिश्री सिमेन्ट उद्योगका नाममा बैंकमा जम्मा भएको रकम शंकास्पद देखिएको जनाउँदै पछिल्लोपटक सर्वोच्चले झिकेको रकम फिर्ता गर्न आदेश दिएको थियो। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश आनन्दमोहन भट्टराईको संयुक्त इजलासले यसअघि भएको अल्पकालीन अन्तरिम आदेश खारेज गर्दै सम्पत्ति शुद्धीकरण ऐनअन्तर्गत अनुसन्धान गर्नुपर्ने देखिएकाले बैंकबाट झिकिएको विवादित रकम फिर्ता लिन राष्ट्र बैंक र इन्भेस्टमेन्ट बैंकलाई आदेश दिएको थियो। सर्वोच्च अदालतको आदेशपछि राष्ट्र बैंकले सुमार्गीको पैसा फिर्ता गराउन बैंकहरुलाई निर्देशन दिएको थियो। तर, त्यो निर्देशन कार्यान्वयन गर्न गाह्रो भएको बैंकहरुको भनाइ छ। नागरिक दैनिकबाट ।

प्रतिकृया दिनुहोस्