मिसन डेभलपमेन्ट बैंक र तिनाउ विकास बैंकबीच मर्जर सम्झौता, नेप्सेमा सेयर कारोबार रोक्का


काठमाडौँ - प्रदेश ५ मा केन्द्रिय कार्यालय रहेका ३ जिल्ला कार्यक्षेत्र भएका तिनाउ विकास बैंक र मिसन डेभलपमेन्ट बैंकबीच आइतबार मर्जरमा जाने सम्झौता भएको छ । मर्जर पछाडी बैंकको नाम तिनाउ मिसन डेभलपमेन्ट बैंंक रहने छ भने केन्द्रिय कार्यालय तिनाउ विकास बैंकको केन्द्रिय कार्यालय नै रहने सम्झौतामा उल्लेख छ । मर्जर सम्बन्धी सम्झौता भएसँगै यी दुवै बैंकको नेप्सेमा सेयर कारोबार रोक्का भएको छ ।

बैंकहरुको शेयर स्वाप रेसियो १ः१ रहने र मर्जर पश्चात राष्ट्रिय स्तरको बैंक बन्ने लक्ष लिएका सम्झौतापश्चात जारी गरेको विज्ञप्तिमा उल्लेख छ । त्यसको लागि थप मर्जर तथा हकप्रद जारी गर्ने सहमति भएको विज्ञप्तिमा जनाइएको छ ।

मर्जरपछि बैंकको संचालक समिति अध्यक्षमा मिसन डेभलपमेण्ट बैंकका अध्यक्ष टिकाराम घिमिरे रहने छन् । त्यस्तै प्रमुख कार्यकारी अधिकृतमा तिनाउ विकास बैंकबाट प्रदिप कुमार श्रेष्ठ र नायव प्रमुख कार्यकारी अधिकृतमा मिसन डेभलपमेण्ट बैंकका हरि प्रसाद घिमिरे रहने छन् ।

मर्जरपश्चात बैंकको चुक्ता पूँजी १ अर्व १४ करोड ४१ लाख रुपैयाँ पुग्नेछ । त्यस्तै निक्षेप संकलन १० अर्व १२ करोड रुपैयाँ तथा कर्जा कर्जा लगानी ८ अर्व ८३ करोड रुपैयाँ पुग्नेछ । बैंकको शाखा संख्या ३७ वटा पुग्नेछन् । मर्जरपछि बैंकले नयाँ कार्यक्षेत्र थप भएका पाल्पा र दाङ्ग जिल्लामा समेत शाखा विस्तार गर्ने विज्ञप्तिमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस्