कर्मचारीमाथि एनआईसी एशिया बैंकको चरम श्रम शोषण, कर्मचारी भन्छन् हामीलाई त बैंक, 'दिन पनि... रात पनि...' (भाग १)

 NIC ASIA BANK
  • बैंकिङ संसार
काठमाडौँ- एनआइसी एसिया बैंकमा कर्मचारीमाथि चरम श्रम शोषण हुने गरेको खुलासा भएको छ । एनआइसी एसिया बैंकले 'अति' गरेको भन्दै कर्मचारीहरुले नै विभिन्न मिडिया गुहार्न थालेपछि बैंकभित्रको यस्तो रहस्य खुलेको हो । बैंकिङ संसार डटकमको सम्पर्कमा आएका एक कर्मचारीले बैंकले कार्यालय समयभन्दा निकै समय बढी काममा पेलाउने तर त्यसवापत थप रकम नदिने गरेको दुखेसो पोखेका छन् । उनले बैंकमा जो रातीसम्म बस्छ उसैलेमात्र राम्रो काम गर्ने गरेको भन्ने भ्रम फैलिएकाले रात विरातसम्म बसेर काम गर्नुपरेको दुखेसो पोखेका छन् ।

श्रम ऐन विपरित काम, तर पाइंदैन थप रकम !
यसो त श्रम ऐनले कतिसम्म काम गर्न पाइने भन्ने स्पष्ट भनेको छ । तर कानुन विपरित एनआइसी एसिया बैंकले आफ्ना कर्मचारीहरुलाई रातीसम्म काम गराउने गरेको पाइएको छ । 'कार्यालय समय सकिने बेलामा असाइन्मेन्ट आउँछ । बेलुकी १० बजेपछी घर गएको त कति दिन छ कति । घरमा श्रीमतीसँग यहि कुराले धेरै ठाकठुक परिसक्यो । न थप पैसा आउँछ न थप काम गरेको जस पाइन्छ । न जागिर खानुको विकल्प छ ।' बैंकिङ संसार डटकमसँग गुनासो पोख्दै बैंकका एक कर्मचारीले भने, 'जागिरका कारण घर नै बिग्रेलाजस्तो भइसक्यो । यति रातीसम्म अफिसमा के काम हुन्छ ? भनेर सोध्दा आफुसँग उत्तर हुँदैन । घरकाले अफिसको काम बुझ्दैनन्, अफिसकाले घरको समस्या बुझ्दैनन् ।'

विज्ञापनमा 'बैंक पनि साथी पनि, कर्मचारीलाई दिन पनि रातपनि'
बैंकले आफ्ना प्रचार सामाग्रीहरुमा बैंक पनि साथी पनि भन्ने नारा राखेको छ । तर एनआइसी एसिया बैंकमा कर्मचारीको हकमा भने त्यो 'दिनपनि, रात पनि' हुन थालेको छ । 'राष्ट्र बैंकमा उजुरी गर्ने सम्मको तयारी भएको हो । तर कसले आँट गर्ने ? कुरा माथिसम्म पुग्यो भने त जागिर जान्छ । मिडियाले हाम्रो कुरा सुन्दैनन् । अधिकांस मिडियालाई बैंकले किनेको छ । यत्रो ब्याज प्रकरण र स्विफ्ट प्रकरणमा समेत नबोलेका मिडिया हाम्रो लागि किन बोल्थे र ।' उनले भने । उनका अनुसार उनी दुखेसो लिएर नेपालका केहि चर्चित भनिएका आर्थिक अनलाइनहरुमा समेत मेल गरेका थिए । तर कसैले उक्त समाचार छापेनन् ।

एनआइसी एसिया बैंकमा काण्ड नै काण्ड, सूचना अधिकारी सम्पर्क बाहिर !
एनआइसी एसिया बैंकमा पछिल्लो समय काण्ड नै काण्ड घट्ने गरेको छ । स्वीफ्ट प्रकरणको पैसा अझै आइपुगेको छैन । कर्मचारीमाथि चरम श्रम शोषण छ । बैंकको उपल्लो तहका कर्मचारीहरु मनपरी हिसावले चलिरहेका छन् । बैंकको सञ्चालक समिति बाफिया विपरित काम गरिरहेका छन् । यता बैंकले यसरी कर्मचारीलाई पेलिरहेको खबरबारे बुझ्न हामीले बैंकका सूचना अधिकारीसमेत रहेका अर्जुन खनियाँलाई करिव ४ पटक फोन गर्यौं । तर उनले फोन नै उठाएनन् ।  

प्रतिकृया दिनुहोस्