नेपाल बंगलादेश बैंक लिमिटेडको जेठ १० देखि २० लाख युनिट ऋणपत्र आउँदैः १० वर्ष अवधि, १०.२५ प्रतिशत ब्याजदर !

 nepal bangladesh bank
  • बैंकिङ संसार
काठमाडौं - नेपाल बंगलादेश बैंक लिमिटेडले जेठ १० गतेदेखि २० लाख युनिट ऋणपत्र बिक्री गर्ने भएको छ । जसमा ८ लाख युनिट सर्वसाधारणका लागि र सामूहिक लगानी कोषहरुलाई ४० हजार युनिट छुट्याइनेछ । बाँकी १२ लाख युनिट भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । 

लगानीकर्ताले उक्त ऋणपत्रमा वार्षिक १०.२५ प्रतिशत ब्याज पाउने छन् भने १० वर्षमा परिपक्क हुनेछ । बैंकले १०.२५ प्रतिशत एनबीबीएल डिबेन्चर २०८५’ नाममा ऋणपत्र जारी गर्न लागेको हो ।

ऋणपत्र बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङले गर्ने भएको छ । साथै नेपाल बंगलादेश बैंकको सबै शाखा र सी–आस्वाको माध्यमबाट यसमा आवेदन दिन सकिनेछ । नबिल इन्भेष्टमेन्ट बैंकिङ नक्साल, काठमाडौंबाट पनि फारम भर्न पाइनेछ । लगानीकर्ताले प्रतियुनिट १ हजार रुपैयाँका दरले न्यूनतम २५ देखि अधिकतम १ लाख युनिटसम्म आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले उक्त ऋणपत्रमा जेठ १४ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा आवश्यक मात्रामा बिक्री नभएमा भने असार ८ गतेसम्म भर्न सकिनेछ । यो ऋणपत्रलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले औसत जोखिम जनाउने ‘एलबीबीबी प्लस’ रेटिङ दिएको छ ।

यो ऋणपत्र बिक्रीबाट आएको रकममध्ये ७० प्रतिशत कर्जा लगानी, १० प्रतिशत लागनी, १० प्रतिशत शाखा बिस्तार र १० प्रतिशत अन्य प्रयोजनका लागि उपयोग हुनेछ ।

प्रतिकृया दिनुहोस्