प्रभु बैंकको सहवित्तीयकरण नेत्तृत्वमा कर्मचारी संचय कोष र कृषि विकास बैंकले लगानी गर्ने

Prabhu Bank
  • बैंकिङ संसार 
काठमाडौं । प्रभु बैंकको सहवित्तीयकरण नेत्तृत्वमा सुपर आँखुखोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको छ । बैंकको नेतृत्वमा २५.४ मेगावाट क्षमताको सुपर आँखुखोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको हो । कुल ४ अर्ब ५६ करोड रुपैयाँ लागतमध्ये प्रभु बैंकको नेतृत्वमा ७५ प्रतिशत अर्थात ३ अर्ब ४२ करोड रुपैयाँ ऋण लगानी गर्ने सम्झौता भएको हो ।

शुक्रवार असोज ९ गते सम्पन्न एक कार्यक्रममा प्रभु बैंकको नेतृत्वमा कर्मचारी संचय कोष र कृषि विकास बैंकले गोरक्ष हाइड्रोपावर प्रा.लि.द्धारा प्रवर्तित उक्त आयोजनासँग ऋण लगानी सम्बन्धि सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

उक्त आयोजनामा प्रभु बैंकले १ अर्ब ८२ करोड रुपैयाँ, कर्मचारी संचय कोषले ८५ करोड रुपैयाँ र कृषि विकास बैंकले ७५ करोड रुपैयाँ ऋण लगानी गर्ने भएका छन् । आयोजनामा कुल लागतको १ अर्ब १४ करोड रुपैयाँ कम्पनीले संस्थापक र सर्वसाधारणबाट पूँजी मार्फत जुटाउने भएको छ ।

ऋण सम्झौतामा सहवित्तीयकरण नेतृत्व गर्ने प्रभु बैंकको तर्फबाट प्रमुख व्यापार अधिकृत रेनु प्रसाद पाण्डे, कर्मचारी संचय कोषका तर्फबाट ट्रेजरी तथा लगानी शाखा प्रमुख अर्जुन कुमार गौतम, कृषि विकास बैंकका तर्फबाट कर्जा लगानी शाखा प्रमुख मिनराज पोखरेल र गोरक्ष हाइड्रोपावरका तर्फबाट प्रबन्ध संचालक रघुनाथ पुरीले ऋण सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

धादिङ्ग जिल्लाको रुबीभ्याली गाउँपालिकामा निर्माणाधिन सो आयोजनाबाट सुख्खायाममा ४१.६३ गिगावाट आवर विद्युत उत्पादन हुनेछ भने वर्षायाममा ९६.६३ गिगावाट आवर विद्युत उत्पादन हुनेछ । कुल वार्षिक विद्युत उत्पादन भने १३८.२६ गिगावाट हुनेछ । कम्पनीले नेपाल विद्युत प्राधिकरणसँग टेक अर पेको आधारमा विद्युत खरिद बिक्री गर्ने सम्झौता पनि गरिसकेको छ ।

विद्युतमा आत्मनिर्भर बनाउने नेपाल सरकारको लक्ष्यमा साथ दिँदै विद्युत तथा उर्जा विकास जस्ता राष्ट्रिय प्राथमिकताका क्षेत्रमा लगानी बढाउँदै जाने बैंकको लक्ष्य रहेको छ । बैंकले देशभर हालसम्म ४० भन्दा बढी विद्युत्तीय आयोजनाहरुमा लगानी गरिसकेको प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृतले बताएका छन् ।

प्रतिकृया दिनुहोस्