राष्ट्रिय वाणिज्य बैंकले गर्यो नेपाल घरेलु तथा साना उद्योग महासंघसँग सम्झौता, उद्यमीहरुले सहुलियपूर्ण कर्जा पाउने

Rastriya Banijya Bank
  • बैंकिङ संसार
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले नेपाल घरेलु तथा साना उद्योग महासंघसँग सम्झौता गरेको छ । बैंकले नेपाल घरेलु तथा साना उद्योग महासंघसँग सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा सम्झौता गरेको हो ।

राष्ट्रिय वाणिज्य बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेपाल घरेलु तथा साना उद्योग महासंघका तर्फबाट कार्यवाहक अध्यक्ष उमेश प्रसाद सिंहले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

अब नेपाल घरेलु तथा साना उद्योग महासंघमा आवद्ध रहेका उद्यमीहरुलाई महासंघले परामर्श र उद्यमशीलता सम्बन्धी आवश्यक तालिमको व्यवस्थापन गरी तालिम प्राप्त व्यक्तिलाई कर्जाको लागि बैंकमा सिफारिस गर्नेछ । सोही उद्यमीहरुलाई बैंकले नियमानुसार सहुलियपूर्ण कर्जा अन्तर्गत कर्जा लगानी गर्ने भएको छ । 

बैंकका प्रमुख कार्यकारी अधिकृतले सम्झौता पश्चात देशमा उद्यमशीलताको प्रशस्त विकास भई सरकारको नीति तथा कार्यक्रमको कार्यन्वयनमा थप सघाउ पुगी रोजगारी श्रृजना समेत हुने बताएका छन् । यस्तै नेपाल घरेलु तथा साना उद्योग महासंघका कार्यवाहक अध्यक्षले बैंकसँगको यो सहकार्यले घरेलु तथा साना उद्यमीहरुको वित्तीय पंहुचमा थप सघाउ पुग्ने बताएका छन् ।

उक्त समारोहमा राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कबिराज अधिकारी, उपकार्यकरी अधिकृत देवेन्द्ररमाण खनाल, विभागीय प्रमुखहरु, महासंघका महासचिव डम्बरप्रसाद रेग्मीलगायत पदाधिकारीहरुको उपस्थिती रहेको थियो । बैंकले देशभरी रहेको २ सय ४१ वटै शाखा कार्यालयहरुबाट यो कर्जा लिन सकिने बैंकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्