राष्ट्रिय वाणिज्य बैंकले गर्यो नेशनल बैंकिङ इन्ष्टिच्युटसँग सम्झौता, कर्मचारीलाई तालिम दिने उद्देश्य

Rastriya Banijya Bank
  • बैंकिङ संसार
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले नेशनल बैंकिङ इन्ष्टिच्युटसँग सम्झौता गरेको छ । बैंक र इन्ष्टिच्युटबीच बैंकिङ तालिम संचालन गर्ने सम्बन्धी सम्झौता भएको हो । 

राष्ट्रिय वाणिज्य बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेशनल बैंकिङ इन्ष्टिच्युटका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौता भएपश्चात गत वर्ष जस्तै चालु आर्थिक वर्ष २०७७/०७८ मा राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीहरुको कार्यदक्षता अभिवृद्धिको लागि नेशनल बैंकिङ इन्ष्टिच्युटले विभिन्न विषयमा नियमित रुपमा बैंकिङ तालिम प्रदान गर्ने भएको छ ।

समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बैंकले लिएको उद्देश्य हासिल गर्नको लागि नियमित रुपमा कर्मचारीहरुलाई तालिम दिईरहेको बताउँदै तालिमले तालिम लिने व्यक्ति र संस्था दुवैको कार्यदक्षता वृद्धि हुने बताएका छन् ।

इन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत लम्सालले भने बैंकिङ क्षेत्रमा राष्ट्रिय वाणिज्य बैंकले कर्मचारीलाई प्राथमिकताका साथ तालिम दिने गरेको बताउँदै तालिमले संस्थाको उत्पादकत्वमा वृद्धि गर्ने बताए ।

उक्त समारोहमा बैंकका उपकार्यकारी अधिकृत सरस्वती अधिकारी, कम्पनी सचिव भोलानाथ पौडेल, नेशनल बैंकिङ इन्ष्टिच्युटका तर्फबाट हेड अफ प्रोग्राम धन थापा, प्रोग्राम म्यानेजर दर्पण श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । 

बैंकले हाल देशभरी रहेको २ सय ४१ वटा शाखा कार्यालय, २ सय ५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ सेवामार्फत आफ्ना ग्राहकहरुलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिकृया दिनुहोस्