नेपाल राष्ट्र बैंकले २० अर्व रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री खुल्ला गर्ने

Nepal Rastra Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल राष्ट्र बैंकले विकास ऋणपत्र बिक्री खुल्ला गर्ने भएको छ । बैंकले कार्तिक १९ गते बुधबारबाट २० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री खुल्ला गर्ने भएको हो । केन्द्रीय बैंकले सरकारलाई आवश्यक रकम जुटाउनका लागि विकास ऋणपत्र जारी गर्न लागेको जनाएको छ ।

मंगलबार निष्कासन हुने विकास ऋणपत्र २०८७ ’घ’ को अवधि १० वर्ष रहेको छ । बोलकबोल प्रक्रियाबाट बिक्री हुने सो ऋणपत्र खरिदको लागि बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले नेपाल राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागमा आवेदन दिन सक्ने भएका छन् ।

इच्छुक खरीदकर्ता प्रतिस्पर्धी र अप्रतिस्पर्धी रुपमा सहभागी हुन सक्ने भएका छन् । प्रतिस्पर्धी खरीदकर्तालाई निष्कासित रकमको ८५ प्रतिशत अर्थात १७ अर्व रुपैयाँ छुट्याइएको छ भने अप्रतिस्पर्धीका लागि १५ प्रतिशत अर्थात ३ अर्ब छुट्याइएको छ ।

इच्छुक लगानीकर्ताले कार्तिक २० गते दिउँसो २ बजेसम्म अनलाइन बिडिङ सफ्टवेयरमार्फत बोलपत्र पेश गर्नुपर्ने भएको छ । ऋणपत्रमा न्यूनतम ५० हजार र बढीमा निष्कासित रकमको सीमा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्म माग गर्न सकिने भएको छ । ऋणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन तथा दोश्रो बजारमार्फत खरिद बिक्री गर्न पनि सकिने भएको छ ।

यही कार्तिक २० गते निष्कान हुने ऋणपत्र २०८७ कार्तिक २० गते साँवा भुक्तानी हुने भएको छ । विकास ऋणपत्रको व्याजदर भने बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने अर्धवाार्षिक रुपमा व्याज भुक्तानी हुने राष्ट्र बैंकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्