कृषि विकास बैंक र राष्ट्रिय खेलकुद परिषद्बीच सम्झौता, १५ लाख रुपैयाँसम्म तलबी खाता कर्जा दिने

Agricultural Development Bank
  • बैंकिङ संसार
काठमाडौं । कृषि विकास बैंक र राष्ट्रिय खेलकुद परिषद्बीच सम्झौता भएको छ । बैंकले राष्ट्रिय खेलकुद परिषद्का कर्मचारीहरुलाई १५ लाख रुपैयाँसम्म तलबी खाता कर्जा दिने सम्बन्धमा १० वर्षे सम्झौता गरेको हो । कृषि विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय र राष्ट्रिय खेलकुद परिषद्का तर्फबाट उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । 

सम्झौता अनुसार बैंकले कर्मचारी कर्जा तथा सापटसम्बन्धी ५ वर्ष स्थायी सेवा अवधि पूरा गरेका कर्मचारीलाई बिना धितो १५ लाख रुपैयाँसम्मको तलबी खाता कर्जा उपलब्ध गराउने भएको छ । राष्ट्रिय खेलकुद परिषद्ले सञ्चालन गर्ने तालीम र सेमिनारमा बैंकको तालीम केन्द्रलगायत पूर्वाधार प्रयोग गर्दा बैंकले ५० प्रतिशत छुट दिने भएको छ ।
यस्तै सम्झौतामा खेलकुदको विकास र विस्तारका लागि स्थानीय तहदेखि केन्द्रसम्म सहमतिअनुसार खेल गतिविधिमा सहकार्य गर्न सकिने भएको छ । 

परिषद्ले सञ्चालन गरेका कुनै पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताको टिकट छपाई बैंकले गरिदिन सक्ने सम्झौतापत्रमा उल्लेख गरिएको छ । सम्झौता पत्र आदनप्रदान गर्दै सदस्य सचिव सिलवालले सहकार्यले दुवै संस्थालाई एक ठाँउमा ल्याएको र यसको लाभ स्वभाविक रुपमा दुवैलाई मिल्ने बताएका छन् । उनले बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत छुट्टयाएको बजेटको २५ प्रतिशत रकम मात्र खेलकुदमा लगानी गर्नसके महत्वपूर्ण हुने पनि बताएका छन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्यायले नेपालको खेलकुद क्षेत्रसँग प्रत्यक्षरुपमा जोडिन पाउँदा संस्था गौरवान्वित भएको बताए । उनले विगतलाई स्मरण गर्दै भलिबलका १० राष्ट्रिय खेलाडीलाई संस्थामा आबद्ध गरेर खेलकुदमा संलग्न भई काम गरेको र पुनः खेलकुदसँग जोडिदा नतिजा फलदायी हुने विश्वास पनि व्यक्त गरेका छन् । केन्द्रमा मात्र नभई प्रदेश र जिल्लामासमेत संस्थाको माध्यमबाट स्थानीय तहसम्म सहकार्य गर्न सकिने उनले बताए ।

प्रतिकृया दिनुहोस्