सिभिल बैंकले युथ म्युजिक कन्टेस्ट २०२१ नामक साङ्गितीक प्रतिस्पर्धात्मक कार्यक्रमको प्रायोजन गर्ने

Civil Bank
  • बैंकिङ संसार
काठमाडौं । सिभिल बैंक लिमिटेडले दया फाउन्डेसनको ‘युथ म्युजिक कन्टेस्ट २०२१’ नामक साङ्गितीक प्रतिस्पर्धात्मक कार्यक्रमको मुख्य प्रायोजन गर्ने भएको छ । युवाहरुलाई लक्षित गर्दै ल्याइएको यस प्रतिस्पर्धात्मक कार्यक्रमको प्रायोजन सिभिल बैंकले गर्ने भएको हो ।

यस प्रतियोगितामा प्रथमलाई २५ हजार, दोश्रोलाई १५ हजार र तेस्रोलाई १० हजारको पुरस्कार दिने व्यवस्था गरिएको छ । यस कार्यक्रममा १५ वर्ष देखी २८ वर्षसम्मका युवाहरु सहभागी हुन पाउने भएका छन् । इच्छुक प्रतियोगीहरूले मोवाइल एप्लिकेशनहरु जस्तै स्टारमेकर, स्म्युल, इत्यादि अथवा आफैले वा समूहमा वाद्य यन्त्र बजाएर गाईएको गीत (अधिकतम लम्बाइ ५ मिनेट सम्मको) ‘युथ म्युजिक कन्टेस्ट २०२१’ फेसबुक ग्रुपमा अपलोड गर्नुपर्नेछ । प्रतिस्पर्धीले कुनै पनि भाषाको गीत गाउन सक्ने छन् यद्दपी नेपालको विभिन्न मौलिक भाषामा गाईएका गीतलाई भने प्राथमिकता दिइने फाउन्डेसनले जनाएको छ ।

पहिलो चरणको गीत अपलोड जनवरी १२ तारिकसम्म गर्नुपर्ने छ । निर्णायक मण्डलद्वारा गायकीको स्तर मापन पश्चात जनवरी १५ तारिकमा कुल २१ प्रतिस्पर्धीहरुको छनौट गरिनेछ र ती २१ प्रातिस्पर्धीहरुले दोस्रो चरणको गीत जनवरी १८ तारिक सम्म अपलोड गरिसक्नुपर्ने भएको छ । अन्तिम चरणमा ‘युथ म्युजिक कन्टेस्ट २०२१’ का विजेताहरूको घोषणा ७० प्रतिशत ‘युथ म्युजिक कन्टेस्ट २०२१’ को फेसबुक ग्रुपमार्फत प्राप्त लाईकको आधारमा र ३० प्रतिशत निर्णायक मण्डलद्वारा प्रदान गरिएको अंकको भारित औसतको आधारमा गरिने भएको छ ।

प्रतिकृया दिनुहोस्