ग्लोबल आइएमई बैंक र निर्यात व्यवसायी महासंघ नेपालबीच सम्झौता, व्यवसायीलाई सहुलियतपूर्ण कर्जा प्रदान गर्ने

Global IME Bank
  • बैंकिङ संसार
काठमाडौं । ग्लोबल आइएमई बैंक र निर्यात व्यवसायी महासंघ नेपालबीच सम्झौता भएको छ । बैंकले महासंघमा आबद्ध सदस्य संघ/संस्थाहरुलाई सहुलियतपूर्ण कर्जाका साथै सरल र सहज बैंकिङ सेवाहरु प्रदान गर्ने सम्बन्धी दुई कम्पनीबीच सम्झौता भएको हो । उक्त सम्झौता भने पुस ९ गते बिहीबार भएको हो ।

ग्लोबल आइएमई बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र निर्यात व्यवसायी महासंघ नेपालका तर्फबाट महासंघका अध्यक्ष रामबहादुर गुरुङ्गले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार बैंकले निर्यात व्यवसायीहरुलाई आवश्यकताअनुसार अल्पकालिन तथा दीर्घकालिन अवधिसम्मका लागि सहुलियतपूर्ण व्याजदरमा कर्जा प्रवाह गर्ने भएको छ । साथै बैंकले महासंघका सदस्यहरुलाई आवश्यक अन्य बैंकिङ सेवा सरल र सहज रुपमा उपलब्ध गराउने भएको छ ।

यस्तै बैंकले कर्जा प्रदान गर्ने, निकासी डकुमेण्ट खरिद गर्ने, नगद अनुदान, पुनरकर्जा, विदेशीमुद्रा खाता तथा सटही सुविधालगायत निर्यात व्यवसायसँग सम्बन्धी अन्य सेवाहरु उपलब्ध गराउने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले समझदारीको प्रमुख उद्देश्य देशमा उत्पादित वस्तुहरुको निर्यात वृद्धि गरी अर्थतन्त्रलाई थप बल पुर्याउन महासंघका सदस्य संघसंस्था तथा व्यवसायीहरुको हकहितमा विभिन्न क्रियाकलाप गर्ने रहेको बताएका छन् ।

बैंकले निर्यात व्यवसायको प्रवर्धनमा विशेष सुविधा दिने बताउँदै अध्यक्ष ढकालले निर्यात व्यवसाय मुलुकको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको र हाल व्यवसायीहरु कोभिड-१९ बाट प्रभावित भएको अवस्था समेतलाई दृष्टिगत गरी महासंघमा आबद्ध भएका निर्यात व्यवसायीहरुलाई अल्पकालीन देखि दीर्घकालीन अवधिसम्मको लागि सहुलियतपुर्ण व्याजदरमा कर्जा प्रवाह गर्ने देखि बैंकिङ सेवालाई सरल र सहज रुपमा उपलब्ध गराउने गरी समझदारी भएको बताएका छन् ।

ग्लोबल आइएमई बैंकसँगको सहकार्यले महासंघसँग आवद्ध संस्थाहरुलाई आवश्यक बैंकिङ कारोबारमा सहज हुने बताउँदै महासंघका अध्यक्ष गुरुङ्गले महासंघले आफ्ना सदस्य रहेका निर्यात व्यवसायीहरुलाई बैंकसँग कारोबार गर्न प्राथमिकता दिने बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत बज्राचार्यले बैंक पनि निजी क्षेत्रको एक संस्था भएकोले निजी क्षेत्रका बैंकिङ समस्या समाधान गर्दै एक आपसमा सहकार्य गर्ने बैंकको उद्देश्य रहेको बताए । महासंघका महासचिव दुर्गा विक्रम थापाले कोभिड अगाडिको वर्ष ९५ अर्व रुपैयाँभन्दा बढीको निर्यात भएको र अबका दिनमा निर्यातलाई प्रवर्धन गर्न महासंघले विशेष कार्यक्रमहरु गर्ने पनि बताए ।

प्रतिकृया दिनुहोस्