मेगा बैंकको १०औं वार्षिक साधारणसभाद्धारा प्रस्तावित १३.०५ प्रतिशत लाभांश पारित

Mega Bank
  • बैंकिङ संसार
काठमाडौं । मेगा बैंक लिमिटेडको प्रस्तावित लाभांश पारित भएको छ । बैंकको पुस २९ गते सम्पन्न १०औं वार्षिक साधारणसभाले बोनस सहितको प्रस्तावित १३.०५ प्रतिशत लाभांश पारित गरेको हो । यससँगै सेयरधनीले हाल कायम चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने १ अर्व ३३ करोड रुपैयाँ बराबरको बोनस र ३.०५ प्रतिशतले हुन आउने ४० करोड ६३ लाख रुपैयाँ बराबरको नगद लाभांश पाउने भएका छन् । साधारणसभाले बैंकमा वैदेशिक रणनीतिक साझेदार ल्याउन सञ्चालक समितिलाई अख्तियारी पनि दिएको छ ।

मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले प्रचलित ऐन तथा कानुनको अधिनमा रही वैदेशिक रणनीतिक साझेदारको पहिचान गर्ने सम्बन्धमा आवश्यक कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्न गरेको प्रस्तावलाई साधारणसभाले पारित गरेको हो । यसैगरी साधारण सभाले गाभ्ने/गाभिने र प्राप्ति गर्ने सम्बन्धमा आवश्यकता अनुसार मर्जर समिति गठन गर्न, समझदारी गर्न, मुल्यांकनकर्ता नियुक्त गर्न र सेयर आदानप्रदान अनुपात निर्धारण लगायतका कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी दिएको छ । साधारण सभामा बोल्दै मेगा बैंक सञ्चालक समितिका अध्यक्ष शाहले आर्थिक बर्ष २०७६/७७ को सुरुको ८ महिना देशको अर्थतन्त्र राम्रै भए पनि त्यसपश्चात कोभिडको महामारीका कारण प्रतिकुल असर परेकाले नेपालको बैंकिङ क्षेत्रले पनि चुनौती भोगिरहेको बताए ।

यसैगरी साधारणसभालाई सम्बोधन गर्दै मेगा बैंक नेपालकी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले कोभिडबाट अन्य व्यवसाय जसरी बैंकिङ क्षेत्र समेत प्रभावित भए पनि मेगा बैंकको वित्तिय परिसचूक सन्तोषजनक रहेको बताइन् । गत आर्थिक बर्षमा मेगा बैंकले गण्डकी विकास बैंकलाई प्राप्ति गरी संयुक्त कारोबार गरेपश्चात ५८ वटा जिल्लामा आफ्नो शाखा सञ्जाल विस्तार गरेको छ । अहिले उपत्यका र उपत्यकाबाहिर गरी बैंकले २ सय६ वटा शाखा कार्यालयहरु, १ सय ४२ वटा एटीएम, ३४ वटा एक्सटेन्सन काउन्टर र ८९ वटा शाखारहित बैंकिङ सेवामार्फत आफ्ना ग्राहकहरुलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिकृया दिनुहोस्