नेपाल इन्फ्रास्ट्रक्चर बैंकले निष्कासन गरेको आईपीओ बाँडफाँड, ४ लाख बढीले पाए ६० कित्ता सेयर

Nepal Infrastructure Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले निष्कासन गरेको आईपीओको बाँडफाँड भएको छ । बैंकले निष्कासन गरेको आईपीओ शुक्रबार माघ १६ गते बाँडफाँड भएको हो । उक्त सेयरको बाँडफाँड शुक्रबार बिहान १० बजे निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको केन्द्रिय कार्यालय लाजिम्पाटमा भएको हो । यससँगै कम्पनीको आईपीओमा आवेदन दिने सबैले बैंकको सेयर हात पारेका छन् । बिक्री प्रबन्धक क्यापिटलका अनुसार पहिलो चरणमा रितपूर्वक आवेदन दिने सबैले बैंकको न्युनतम १० कित्तादेखि अधिकतम ५० कित्ता सेयर पाएका छन् ।

१० कित्ताभन्दा बढी र ५० कित्तासम्म रितपूर्वक आवेदन दिएका सबैले आफुले माग गरेजति नै सेयर हात पारेका छन् । आईपीओमा आवेदन दिएका मध्ये कूल १४ लाख ७५ हजार ८ जनाको आवेदन रितपूर्वक रहेका छन् भने ६ हजार २ सय ७६ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ । त्यस्तै पहिलो चरणमा बाँडफाँड गरेर बाँकी रहेको ४९ लाख २० हजार ७२० कित्ता सेयर दोश्रो चरण अर्थात गोलाप्रथाबाट बाँडफाँड गरिएको छ । ६० कित्ता वा सो भन्दा बढी माग गर्ने कूल ११ लाख ९४ हजार ४ जना आवेदकलाई गोलाप्रथामा समावेश गरिएको थियो । जसमध्ये भाग्यमानी ४ लाख ९२ हजार ७२ जनाले मात्रै बैंकको थप १० कित्ता गरी अधिकतम ६० कित्ता सेयर हात पारेका छन् भने बाँकीले बैंकको अधिकतम ५० कित्ता सेयर पाएका छन् ।

बैंकले गत माघ २ गतेदेखि माघ ६ गतेसम्म प्रतिकित्ता १ सय रुपैयाँ दरको ८ करोड कित्ता सेयर अर्थात कूल ८ अर्व रुपैयाँ बराबरको आईपीओ निष्कासन गरेको थियो । जसमध्ये १ लाख ६० हजार कित्ता कर्मचारीका लागि र ४ लाख कित्ता म्युचुअल फण्डहरुका लागि छुट्याइएको छ र बाँकी रहेको ७ करोड ५८ लाख ४० हजार कित्ता सेयर भने सर्वसाधारणका लागि छुट्याइएको थियो । उक्त आईपीओ हालसम्मकै उच्च परिमाणको आइपीओ हो । १२ अर्व रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको आईपीओ बाँडफाँडपछि २० अर्व रुपैयाँ पुगेको छ ।

प्रतिकृया दिनुहोस्