नेपाल बंगलादेश बैंक र कर्मभूमि समाजबीच सम्झौता, व्यवसायीहरुलाई सहुलियतपूर्ण कर्जा प्रदान गर्ने

Nepal Bangladesh Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल बंगलादेश बैंक र कर्मभूमि समाजबीच सम्झौता भएको छ । बैंकले कर्मभूमि समाजका व्यवसायीहरूलाई कर्जा प्रदान गर्ने सम्बन्धमा उक्त सम्झौता गरेको हो । नेपाल बंगलादेश बैंक तर्फबाट बैंकका एसएमई तथा रिटेल बैंकिङ प्रमुख सुदीन ढुङ्गेल र कर्मभूमि समाजका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजु नेपालले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

हात्तीवन-१५ ललितपुरमा अवस्थित कर्मभूमि समाजले हातमा सीप भएकालाई उद्यमशील बनाउन बैंक तथा वित्तीय संस्थामार्फत् वित्तीयकरण सुविधा उपलब्ध गराउन मध्यस्थकर्ताको काम गर्दै आएको छ । देशमा उद्यमशीलता प्रवद्र्धन गरी गरिबी निवारण तथा विपन्न क्षेत्रलाई माथि उकास्ने काममा क्रियाशील कर्मभूमि समाज र नेपाल बंगलादेश बैंकबीच साना, मझौला उद्यम (एसएमईज्), व्यावसायिक कृषि र पशुपालन कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, वैदेशिक रोजगारबाट फर्केकालाई परियोजना कर्जा, सहुलियतपूर्ण महिला उद्यमशीलता कर्जा र दलित समुदाय उद्यमशीलता कर्जा प्रदान गर्ने भएको छ ।

कर्मभूमि समाजले कर्जाको आवश्यकता रहेका उद्यमी, व्यवसायी पहिचान गरी ऋण लिनेका तर्फबाट बैंकको मापदण्ड अनुसारका कागजात, प्रस्ताव बैंक समक्ष पेश गर्नेछ । समाजले नेपाल राष्ट्र बैंकको निर्देशिकाले तोकेबमोजिम शर्तहरू पालना गरी कर्जाका लागि ऋणग्राहीका तर्फबाट उक्त कागजातहरू तथा ऋणीका बारेमा बैंकका लागि आवश्यक जानकारी पेश गर्ने भएको छ । तर कर्जा प्रवाह गर्दा बैंकले आफ्नो आन्तरिक कार्यविधि, जोखिम मूल्यांकन, नेपाल राष्ट्र बैंकको निर्देशिका तथा आफ्नो विवेक प्रयोग गर्ने सम्पूर्ण अधिकार बैंकमा निहीत रहने सम्झौतामा उल्लेख छ ।

प्रतिकृया दिनुहोस्