एनसीसी बैंक र चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संस्थाबीच सम्झौता, व्यवसायीहरुले सहुलियतपूर्ण कर्जा पाउने

NCC Bank
  • बैंकिङ संसार
काठमाडौं । एनसीसी बैंक र चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संस्थाबीच सम्झौता भएको छ । बैंकले चितवन जिल्लाका दुग्ध उत्पादक किसान तथा संस्थाहरुलाई व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा उपलब्ध गराउने गरी उक्त सम्झौता गरेको हो । नेपाल राष्ट्र बैंकबाट जारी भएको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ (तेस्रो संशोधनसहित) अन्तर्गत व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा प्रवाह गर्नका निम्ति बैंकले उक्त संस्थासँग सम्झौता गरेको हो ।

एनसीसी बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेशराज अर्याल र चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवनका तर्फबाट अध्यक्ष रत्नमणी न्यौपानेले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार बैंकले जिल्ला भरिका दुग्ध उत्पादक किसानहरूको व्यवसाय प्रवर्द्धन गरी उत्पादन एवम् रोजगारी अभिवृद्धि गर्न संघ अन्तर्गतका सदस्य दुग्ध उत्पादक सहकारी संस्थासँग आवद्ध दुग्ध उत्पादक व्यक्तिरकिसान र संस्थाहरूलाई सहुलितपूर्ण कर्जा प्रदान गर्ने भएको छ । पशुपालक व्यक्ति÷किसानले प्रतिव्यक्ति अधिकतम १० लाख रुपैयाँसम्म पाउने भएका छन् । कृषि तथा पशुपालन व्यवसाय गर्ने गरी दर्ता भएका प्राइभेट फार्म वा साझेदारी व्यवसायलाई प्रतिफार्मरव्यवसाय अधिकतम १ करोड रुपैयाँसम्म पाउने भएका छन् ।

कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएका कृषि तथा पशुपालन व्यवसाय गर्ने प्रति कम्पनीलाई अधिकतम ५ करोड रुपैयाँसम्म दिने बैंकले जनाएको छ । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका विभिन्न सहकारी संस्थासँग प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा आबद्ध ४० हजार भन्दा बढी किसानहरु लाभान्वित हुन सक्ने अपेक्षा गरिएको छ । त्यस्तै यो कर्जा योजनामा सहभागी हुने सेवाग्राहीलाई कुनै पनि सेवा शुल्क लाग्ने छैन । सम्झौताअनुसार यस्तो कर्जा कुनै पनि शाखाबाट प्राप्त गर्न सकिने र कर्जाका लागि संघले सहजीकरण गरिदिने पनि बताइएको छ ।

प्रतिकृया दिनुहोस्