नेपाल बंगलादेश बैंक र सुन्दरहरैंचा नगरपालिकाबीच सम्झौता, युवाहरुलाई १५ लाखसम्म ऋण दिने

Nepal Bangladesh Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल बंगलादेश बैंक र सुन्दरहरैंचा नगरपालिकाबीच सम्झौता भएको छ । बैंकले मोरङ जिल्लाको सुन्दरहरैंचा नगरपालिकासँग ती क्षेत्रका युवाहरुलाई ऋण उपलब्ध गराउने सम्बन्धमा उक्त सम्झौता गरेको हो । उक्त सम्झौता अनुसार उद्यम गर्न चाहाने युवाहरुलाइ बैंकले २ लाखदेखि १५ लाख रुपियाँसम्म ४ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने भएको छ ।

नेपाल बंगलादेश बैंकका तर्फबाट प्रदेश १ का प्रमुख कृष्णप्रसाद तिम्सिना र सुन्दरहरैंचा नगरपालिकाका तर्फबाट नगर प्रमुख शिवप्रसाद ढकालले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौतापत्रमा हस्ताक्षर भएको मितिबाट २ वर्षसम्म कायम रहने गरी हस्ताक्षर भएपनि नगरपालिकाको दायित्व कर्जा बहाल रहेसम्म रहने भएको छ । कर्जाका लागि आवश्यक पर्ने फर्म दर्ता, चार किल्ला प्रमाणित, घरबाटो लगायत अन्य सिफारिश नगरपालिकाले निःशुल्क उपलब्ध गराउने भएको छ ।

सो ऋण पाउनका लागि निवेदकले वडामा निवेदन दिएपछि वडाले नगरपालिकालाई सिफारिश गर्नेछ र त्यसकै आधारमा नगरले बैंकसँग ऋण प्रदान गर्न सिफारिश गर्ने सम्झौतामा उल्लेख गरिएको छ । ऋण खराब कर्जामा परिणत भए नगरले सो कर्जा उठाउन पहल गर्ने र राज्यले दिने सबै सेवा र सुविधाबाट वञ्चित पनि गर्न सक्ने जानकारी गराएको छ । विदेशबाट फर्किएका युवा, दलित युवा, स्वरोजगार बन्न चाहने युवा र उद्यमी बन्न चाहने महिलाका लागि पनि यो योजना ल्याइएको बैंकले जनाएको छ । पुरुषका लागि अधिकतम ४ प्रतिशत र महिलाका लागि अधिकतम ३ प्रतिशत ब्याजदरमा ऋण दिने गरी बैंकसँग सहमति भएको हो ।

प्रतिकृया दिनुहोस्