हिमालयन बैंक र बैंक अफ काठमान्डूको डेढ अर्ब रुपैयाँ फिर्ता

Himalayan Bank
  • बैंकिङ संसार
काठमाडौं । हिमालयन बैंक र बैंक अफ काठमान्डूले काउन्टर ग्यारेन्टीवापतको डेढ अर्ब रुपैयाँ फिर्ता पाएका छन् । चीनमा परेको मुद्धा जितेका दुवै बैंकले एक दशकपछि स्टाण्डर्ड चार्टर्ड बैंकमा रहेको बैंक खातामा चिनियाँ रेल्वे ब्यूरोबाट पैसा फिर्ता आएको हो ।

फिर्ता आएको डेढ अर्ब रुपैयाँमध्ये हिमालयन बैंकले ६६ लाख अमेरिकी डलर फिर्ता पाएको बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले बताएका छन् । सो समयमा बैंक अफ काठमान्डूले ६६ लाख २५ हजार १० अमेरिकी डलर तथा १४ लाख ११ हजार ४५३ युरो काउन्टर ग्यारेन्टी अन्तर्गत मेलम्ची खानेपानी आयोजनालाई दिएको थियो । सो रकम पनि फिर्ता आएको बैंक अफ काठमान्डूका सीईओ श्रवण मास्केले जानकारी दिएका छन् ।

मेलम्ची खानेपानी आयोजनामा काम गर्न आएको चिनियाँ ठेकेदार कम्पनी चाइना रेल्वे कम्पनीको लागि चाइना कन्स्ट्रक्सन बैंकमार्फत दुवै नेपाली बैंकले काउन्टर ग्यारेन्टी प्राप्त गरेका थिए । तर, उक्त ठेकेदार कम्पनीले बीचैमा काम छाडेर हिंडेपछि दुवै बैंकको काउन्टर ग्यारेन्टी फसेको थियो ।

सुरूमा चाइना कन्स्ट्रक्सन बैंकले उक्त ग्यारेन्टी वापतको रकम दिन अस्वीकार गरेको थियो । त्यसपछि, मुद्धा चीनको अदालतमा पुगेको थियो । चीनमा परेको सो मुद्धा दश वर्षपछि हिमालयन बैंक र बैंक अफ काठमान्डूले जितेका थिए ।

प्रतिकृया दिनुहोस्